ब्याटमिन्टन खेललाई संस्थागत गर्न जिल्लामा पश्चिमाञ्चलकै ठुलो कर्भड हल निर्माण सुरु गरिएको छ ।
जिल्ला खेलकुद विकास समितिको लगानी तथा व्याटमिन्टन संघको सहयोगमा शिवालय ७ स्थित माझमेलामा निर्माण थालिएको कर्भडहलमा ३ कोट रहने छन् । ३४ लाख ४२ हजार ९ सय रुपैंयाको लागतमा निर्माण सुरु भएको कर्भडहल आगामी असार महिनाबाट सञ्चालनमा आउने छ ।
'सबैबाट आर्थिक जुटाएर कर्भडहलको निर्माण सुरु गरेका हौं,' निर्माण समितिका संयोजक राजेशकुमार श्रेष्ठले भने, 'सहयोग दिने आश्वासन सबैले गरेका छन्, सहयोग मिले असारबाट हल सञ्चालनमा आउने छ ।'
निर्माणमा ब्याटमिन्टन खेलाडी र नयाँ भैरवीदल गुल्मका सैनिक जवान खटिएकाले समयमै निर्माण पुरा हुने श्रेष्ठले बताए । ५४.७५ फिटको उक्त कर्भड हलमा इन्डोर खेलहरु पनि सञ्चालन गरिने छ । गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय वन समितिको २ रोपनी जग्गामा निर्माण थालीएको कर्भड हलमा राष्ट्रिय स्तरका खेलहरु पनि सञ्चालन गरिने संघले जनाएको छ ।
'कर्भडहल नहुँदा बर्षातको समयमा व्याटमिन्टन खेल्नकै लागि बागलुङ र म्याग्दी धाउनु पर्ने समस्या थियो,' खेलाडी रामचन्द्र जोशीले भने, 'त्यही भएर सबै खेलाडी एकजुट भई कर्भडहल निर्माणमा जुटेका हौं ।' उनले जिल्लामा व्यवस्थित नभएकाले जिल्ला प्रशासन कार्यालय भित्र रहेको व्याटमिन्टनको कोर्डमा पालो पर्खेर खेल्नु पर्ने बाध्यता रहेको बताए ।
पश्चिमाञ्चलकै ठुलो कर्भडहल निर्माण सुरु संगै खेलाडीहरु समेत हषिर्त छन् । अन्य खेलहरु भन्दा व्याटमिन्ट खेलका खेलाडी संगठित भएकाले उनीहरुकै माग अनुसार कर्भडहलको निर्माण थालिएको हो । पर्वतमा व्यावसायिक रुपमा खेल्ने व्याटमिन्टन खेलका खेलाडी ५० जना छन् । 'हामीले हाम्रा लागि मात्र कर्भडहल निर्माण गरेका होईनौं,' खेलाडी समेत रहेका निर्माण समितिका संयोजक श्रेष्ठले भने, 'कुलतमा लागेका युवायुवतीलाई खेलमा सकि्रय गराई कुलतबाट मुक्त गराउने छौं ।'
विद्यालय र कलेज पढ्दै गरेका अधिकांश युवायुवती कुलतमा लागेकाले कुलतबाट मुक्त गराउने अभियानमा कर्भडहल निर्माण पश्चात् व्याटमिन्टन खेलाडी सकि्रय हुने उनले बताए । 'खेलाडी त धेरै छौं तर व्यवस्थित खेल्ने ठाउँको अभाव थियो,' खेलाडी विपीन गुरुङले भने, 'अब भने निर्वाध रुपमा खेल्न पाईएला जस्तो छ ।'
कर्भडहल निर्माण गरिएपछि जिल्लामा अञ्चल, क्षेत्रीय र राष्ट्रिय स्तरका खेलहरुको आयोजना गरी खेलाडीलाई हौसला प्रदान गरिने संघले जनाएको छ । कर्भडहल निर्माणमा खेलकुद विकास समितिले ५ लाख, पर्वत यातायात र बजारबासीबाट २ लाख रुपैंया प्राप्त भएको छ । जिल्लामा व्याटमिन्टन खेललाई जीवन्त राख्न सबै एक भएकाले आर्थिक सहयोग जुटाएर गएको पुसमा निर्माण सुरु भएको हललाई पाँच महिना भित्रमा सम्पन्न गरिने निर्माण समितिले जनाएको छ
No comments:
Post a Comment
kushmabajar.blogspot.com