कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

अनुप थापा -
त्यसदिन मैले उनलाई भेट्दा उनी निकै खुशी देखिएका थिए । यसअगाडि उनलाई मैले कहिले पनि यस्तो खुशी देखेको थिइन । हुन त हाम्रो कतिधेरै भेटघाट पो हुन्थ्यो र ? त्यहीं ज्याक्सनहाइटतिर निस्केको बेलामा भेट हुने त हो । न्युयोर्कमा नेपालीहरुको जमघट हुने मुख्य थलो न यहीं ज्याक्सन हाइट त हो नि ।
अहिले त के छ कुन्नी ? म त्यता नगएको धेरै भयो । तर पहिले नेपालमा काठमाडौंको बशन्तपुरबाट गणेश मन्दिर हुंदै मरुहिटीको हल्का ओरालो लाग्दा पोखरी पार गर्नासाथ विहान विहान भारतीयहरुको ठूलै जमघट देख्न सकिन्थ्यो । हुलै बांधेर बाटै छेक्नेगरी पान चपाउदै बसेर ठूलो ठूलो स्वरमा कुरा गरिरहेका उनीहरुले युपी विहार तिरको झल्को दिन्थे ।
न्युयोर्कमा पनि यसैगरी ज्याक्सनहाइटतिर जम्मा हुने नेपालीहरुले बातै मारेर भएपनि नेपालको झल्को दिन्छन् । यिनै बातबहादुरहरुको भींडमा कहिलेकांही उनीसंग भेटघाट हुन्थ्यो मेरो । पहिले पहिले सामान्य चिनजान थियो पछि पछि मनका बात पनि हुन थाले । त्यसैले मैले उनलाई यस्तो विधि खुशी हुुनुको कारण सोधिहालें । जवाफ दिए उनले – म त बच्चाको बाबु बन्ने भएं ।
हुन पनि उनको बच्चाको बाबु बन्ने रहर पुरानै थियो । तर खै किन हो विहे गरेको पांच वर्षसम्म पनि बच्चा भएन । बच्चा किन र कस्को कारणले भएको थिएन, यो त उनले बताएनन् । न मैले नै कुनैदिन सोधें । किनभने मेरा यस्ता प्रश्नले उनलाई दुखी पनि बनाउन सक्थ्यो । म उनलाई दुखी बनाउन चाहन्नथें ।
एकमन त मलाई के कारणले बच्चा नभएको हो जान्न मन पनि लागेको थियो । किनभने यस्तो जान्न पाएमा उनलाई केही सल्लाह सुझाव पनि दिन सक्थें । हामी नेपालीहरुलाई अरुलाई सल्लाह सुझाव दिन त माहिर छदैंछौं । तर मलाई उनका बच्चा नहुनुको कारण सोध्ने हिम्मतै आएको थिएन । यो अवस्थामा उनले आफू बच्चाको बाबु बन्ने खबर सुनाउदा उनको सुखद खबरबाट म पनि खुशी भएको थिएं ।
आफू बच्चाको बाबु बन्ने कुरा उनले मलाईमात्र होइन, धेरैलाई सुनाए । शायद अपुतो भन्नेहरुलाई पनि जवाफ दिनुथियो उनलाई । बच्चाको बाबु बन्ने भएकोमा उनी यति खुशी थिए कि यो खबर साथीहरुलाई सुनाउन पाउंदा उनको मनमा हर्ष र उमंग छाएको थियो । किनभने छोरा वा छोरीले बाबा भनेर बोलाएको सुन्ने उनको रहर छिटो नै पूरा हुंदै थियो ।
उनले आफू बाबु बन्ने कुरा सुनाएको त्यो भेट नै उनको र मेरो अन्तिम भेट थियो । त्यसपछि उनीसंग भेट हुन पाएन । पछि त्यस्तै पांच छ महिना बितेपछि उनी न्युयोर्क छाडेर टेक्सासतिर हो कि कता हो लागे भन्ने सुनियो । न्युयोर्क छाड्दा उनी निकै दुखी थिए रे । उनीसंग अन्तिमपटक भेट भएपछिका दिनमा उनको जीवनमा निकै ठूलो आरोह अबरोह आएछ । एउटा दुखद कथाजस्तै । पछि अरुसंग बुझ्दा थाहा पाइयो ।
बच्चाको बाबु बन्ने सपना पुरा हुने दिन नजिक नजिक आउदै थियो । त्यसैले बैंक अकाउण्ट पनि उनले अलिकति बढाएका रहेछन् । सुत्केरी भइसकेपछि श्रीमतिले काम गर्न सक्ने कुरा भएन । त्यसैले पैसाको जोहो गर्नु उनका लागि जरुरी थियो । यो अवधिमा उनले ग्यास स्टेशनमा ६ दिन होइन, कहिलेकाही त हप्ताको सातै दिन पनि काम गरे । श्रीमतिले पनि न्युजर्सीमा एकजना काला अमेरिकनकोमा काम गरिरहेकै थिइन्, त्यसबाट पनि अलिकति पैसा आइरहेकै थियो । घरखर्च धानेर केही रकम श्रीमतिकै कमाइबाट पनि बच्थ्यो ।
श्रीमति सुत्केरी हुन दिन पनि आयो । लामो प्रतिक्षापछि बच्चाको अनुहार हेर्न उनी निकै लालायित थिए । बच्चा पेटमा नर्मल अवस्थामा नै रहेकाले सुत्केरीहुंदा कुनै कठिनायी भएन । बच्चा स्वस्थ्य र सकुशल थियो । यहांसम्म त उनको जीवनमा सबैकुरा ठीकठाक नै भइरहेको थियो । तर कुरा यहींनेरबाट बिग्रियो ।
आफ्नो पहिलो सन्तानको अनुहार हेर्न हरेक बाबुआमालाई हतारै हुन्छ । त्यसैले निकै हतार गरेर उनी बच्चाको अनुहार हेर्न अघि सरे । हुन पनि छोरा नै जन्मिएकाले उनी अझ बढी खुशी थिए रे । छोराछोरी बराबर भनेपनि छोरा जन्मिएकोमा खुशी मान्ने वा छोराको चाहना राख्ने  बाबुआमाहरुको के कमि छ र ? त्यो क्याटेगोरीमा उनी पनि परेकै थिए ।
छोराको अनुहार देखेपछि भने उनको मनभरी एकैछिन अगाडि छाएको उमंग मरेर गयो । अनुहार नै फिक्का भयो । किनभने छोराको अनुहार बाउसंग होइन, अमेरिकाको न्युजर्सीमा काम गर्ने घरको साहुसंग पो मिल्न पुग्यो । सातो गएजस्ता भएका उनी श्रीमतिलाई अस्पतालमा नै छाडेर बेपत्ता भए ।
श्रीमतिले काम गर्ने घरको साहुजस्तै कालो अनुहारको मात्र होइन, काटीकुटी साहुकै अनुहारको । त्यसैले शायद डिएनए परिक्षणको झन्झट पनि गर्ने आवश्यकता ठानेनन् उनले । उनले तत्कालै श्रीमतिलाई छाड्ने निर्णय गर्न पुगे । श्रीमतिलाई छाडेपछि उनी टेक्सासतिर लागे भन्ने सुनियो ।
पछि श्रीमति आफूले काम गर्ने तिनै कालाजातिका अमेरिकन साहुकोमा गुनासो गर्न पुगेकी थिइन् रे । किनभने बच्चा त्यहीं साहुकै भएको कुरामा श्रीमतिलाई कुनै शंका नै थिएन । उसो त साहुलाई पनि शंका थिएन । किनभने यस्तो भइरहन्छ अमेरिकामा । र यो सामान्य घटना जस्तै हो अचेल । कतिले थाहा पाएपनि श्रीमतिलाई स्वीकार गरिरहेकै हुन्छन्, कतिले थाहै पाउदैनन् । लोग्नेले छोडेकी उनलाई  ति साहुले श्रीमतिकै रुपमा राखेको खबर त आएन, तर उनीपनि त्यसपछि कता गइन् केही थाहा पाउन सकिएन ।
( सेक्स एण्ड सिटी एकजना पत्रकारको नियमित स्तम्भ हो । अमेरिकामा रहेका नेपालीहरु यो स्तम्भका पात्रहरु हुन् । यौन र जीवनशैलीकाविषयमा लुकेका कैयन कुराहरुको यो स्तम्भमार्फत पर्दाफास हुनेछ । अमेरिकामा बसेर फर्किएका स्तम्भकारका पात्रहरु को को हुन् ? पात्रहरुकस्ता कस्ता छन् रु त्यो विषयलाई स्तम्भकारले तपाईहरुसमक्ष पोख्नेछन् । –विश्वन्यूज डटकम )





संजिव वोहरा “आभास”

हुरी बतास र प्रचण्ड गर्मीको आगमनसंगै चैत महिनाको प्रवेश । रुखहरुमा नयाँ पालुवा पलाउन लागेपनि सुख्खा र उजाड मौसम जस्तै हरेक मानिसहरु शितल छहारीमा नै बसी दिनहरु विताउँदथे । त्यस्तै आज शृजल पनि प्रचण्ड गर्मीको कारण कोठामा बस्न नसकि हातमा किताब लिएर पिपलु चौतारीमा प्रस्थान गर्न पुग्छ । वास्तवमा भन्नुपर्दा ऊ एउटा विकट गाउँको परिवेशमा हुर्किएर पनि उच्च शिक्षा हासिल गर्नको लागि बागलुङको रामरेखा गाउँमा डेरा लिई बसेको छ । सुन्दर शान्त वातावरण, स्वच्छ हावापानी, मुस्कुराई रहेको धवलागिरी, कालिगण्डकीको छङ्गछङ्ग आवाजसँगै अनगिन्ति चराचुरुङ्गीहरुको मिठो आवाज सुनिने, हरियाली डाँडाकाँडाहरुमा रहेका गाउँवेसीहरुको मनोरम दृष्य देखिने अनि सल्यरीको शितलता र पिपलबाट बहने चिसो हावा जसका कारण रामरेखा गाउँ विद्यार्थीहरुको लागि परिचित ठाउँ बनिसकेको छ त्यसैले होला अनेकौं ठाउँबाट विद्यार्थी एवं मानिसहरु रामरेखामा भित्रिरहेका छन् र यो क्रम अझै पनि जारी नै रहेको छ ।

बाह्र बजेको टन्टलापुर गर्मीमा पनि चिसो हावा चल्ने पिपलुको छायाँमा बसी शृजल कितावको पाना पल्टाउँदै जान्छ अनि केहि समय पश्चात आफ्ना नजर यताउती घुमाउने क्रममा अनेकौं घरहरु रहेको ठाउँ मध्ये एउटा घर जहाँ उसको आँखा रोकिन पुग्छ । जुन घर दुई तलाको थियो, टिनले छाएको उक्त घरको आगन अनिगिन्ति पुष्पुच्छाहरुले भरिएको थियो, जहाँ पुतली र भमराहरु नाचिरहेका थिए दोस्रो तलामा रहेको दुईवटा झ्याल मध्ये एउटा झ्याल खुला थियो त्यही झ्यालबाट एक युवती वाहिरको दृष्य चियाइरहेकी थिइन्, ठूलाठूला आँखा, चन्द्ररुपी मुहार र लामो केश लाग्थ्यो रङ्गीविरङ्गी पुतलीहरुसँग फूलमा लुकामारी खेल्दा खेल्दै थाकेर विश्राम लिन पुगेकी छिन् । शृजल एकटकले त्यही झ्यालमा हेरिरहेको थियो । आफ्नो नजर घुमाउने क्रममा उनीले पनि त्यही चौतारितिर आफ्नो नजर पोख्न व्यस्त थिईन् । एक्कासी आएको हुरी बतास सँगसँगै कालो बादलले आकाश ढाकिदिन पुग्यो । गड्याङ्ग गुडुङ्गको आवाजसँगे मुसलधारे पानी वर्षन थाल्यो, शृजल भिज्दै त्यहाँबाट आफ्नो गन्तव्य स्थान तर्फ प्रस्थान गर्न वाध्य हुन्छ ।

यसरी नै दिन, हप्ता र महिना वित्ने क्रमममा तिन महिना वितिसक्यो र पनि त्यो घरमा कुनै परिवर्तन आउन सकेन न उनीमा कुनै परिवर्तनका रेखाहरु कोरिए, घरको आगनमा साना साना केटाकेटीहरु खेलीरहन्थे नभए हिजो जस्तै आज पनि उस्तै थियो त्यो घरको वातावरण त्यही झ्याल उनको लागि प्यारो थियो र सारा संसार त्यही झ्यालबाट हेर्दैमा उनका दिनहरु वितिरहेका थिए । कुनै पनि दिन उनी बाहिर निस्केको नदेख्दा शृजलको मनमा अनेकौं किसिमका तर्क वितर्कहरु खेलिरहन्थ्यो । उनको बारेमा जान्न चाहान्थ्यो, उनीलाई भेट्न चाहान्थ्यो, तर एक अपरिचित भएको कारण त्यहाँ प्रश्न चिन्ह खडा भैदिन पुग्थ्यो । शृजल अब त एउटा पढ्ने वाहाना लिएर मात्रै त्यो चौतारीमा आउने गर्थ्यो र उनकै बारेमा अनेकौं कुराहरु सोचिरहन्थ्यो उनी हेरिरहन्थीन तर कसलाई हेर्थिन त संधै देख्ने डाँडाकाँडालाई या शृजललाई जहाँ मेरै बारेमा सोचिरहेकी छिन भन्ने आभास शृजललाई थियो । हुन पनि सधैं आएर त्यही झ्यालमा आँखा लगाउँदा अवश्य पनि मेरै वारेमा सोंचेको हुनु पर्दछ । “प्रतिक्षा दिदी मेरो खेलौना त्यहीँ छ तल फालिदिनुहोस् न” एक सानी फुच्चिको शुरिलो आवाज थियो अनि त्यही आवाजबाट शृजललाई थाहा हुन्छ कि उनको नाम थाहा पाउने प्रतिक्षामा बसेको शृजलले उनको नाम प्रतिक्षा रहेछ भन्ने र पनि अझै प्रतिक्षा गरी बसिरहेको छ उनीसँग भेटहुने आशा लिई । आज अकस्मात उनी हास्न पुगिन र हाँसिरहिन मलाई नै हेरेर म खुशी सँगै उनको हाँसोमा हाँसो मिलाएर हाँसिदिएँ मलाई थाहा थियो त्यो मुस्कान केवल मेरो लागि थियो भनेर । आजसम्म मौनतामा हराइरहेको मायाका लहरहरु हाँसो संगसंगै एक अर्कामा प्रफुष्टि भइरहेको छ, त्यही हाँसो एक अर्कामा भेट हुने प्रतिक्षामा छटपटाइ रहेको छ त्यो दिन शृजल अवरेसम्म त्यहीं बसी मनभरी खुशीका तरंगीत भावना लिएर उनीसँग हाँसोसँगै विदा लिई आफ्नो कोठामा फर्कन पुग्छ ।

बर्षायाम शुरु भएर होला आज विहानै सुर्यको किरण धर्तिमा पर्न नपाउँदै वादलले सारा आकाश ढाकिदिएको छ । सिमसिमे पानी परिरहेको छ । सधैं कोठाबाट दिउँसो निस्कने शृजलको मन हिँजोको त्यो हंसिलो मुहारले मुटुमा गहिरो छाप परेरै होला निकै खुशीका साथ उनीलाई जसरी भएपनि भेट्ने छु भन्ने आशा लिई त्यही चौतारी तिर प्रस्थान गर्छ । किन हो आज प्रकृति निराश देखिएको छ, वरिपरिका डाँडाकाँडाहरु मौन छन्, मिठो संगित सुनाउने कालिगण्डकी पनि जोडसँग चिच्याउँदै उर्लिरहेको छ शृजल भने निकै खुशीका साथ त्यही चौतारीमा प्रवेश गरि प्रतिक्षाको आगमन हुने आशमा उनीले हेर्न झ्यालमा चियाइरहन्छ त्यो झ्यालपनि आज मौन थियो । त्यो घरको आगन थुप्रै मानिसहरुको भिडले खचाखच भरिएको थियो अवश्य पनि त्यहाँ पुजा चलिरहेको छ भनि सोंच्दै शृजल त्यहीं गएर प्रतिक्षासँग परिचित हुन्छु भनि शृजल पहिलो पटक त्यस घरमा पाइला टेकी त्यहाँको दृष्य हेर्छ एकाएक उ झस्कन पुग्छ । त्यहाँ प्रतिक्षा थिइनन् न त त्यहाँ कुनै पुजा नै थियो भर्खर दुलही बोक्ने डोली सिंगार्न लाए जस्तै थियो त्यहाँ त्यसबेला कसैले “ल यहाँको काम सिद्धियो अब प्रतिक्षालाई लिएर आउनु” भनि आग्रह गरे शृजलको मुटु जोडसँग धडकिन पुग्यो छाति चिरिएर छियाछिया भयो एकैक्षणको त्यो हाँसोले सारा सपना उडाई रोदनमा परिणत भईदिन पुग्यो आँखाबाट असारे झरी सँगसँगै बलिन्द्र आँशुका धाराहरु खस्न पुगे । त्यहाँ आफूले सोँच्दै नसोचेको दृष्य देख्न पुग्दा शृजल पागल जस्तै भएको थियो । उता प्रतिक्षालाई पनि सिंगार्न व्यस्त छन् । फूलमाला र नयाँ कपडामा सजिएकी प्रतिक्षा साँच्चै आकाशबाट झरेकी परी परी जस्तै थिइन् तर विडम्बन डोली चढ्ने उमेरमा आज उनी हरियो बाँसमाथि चढ्न पुगेकी छिन्, रातो सारी र चुरापोतेमा सजिने प्रतिक्षा आज पहेंलो कात्रोमा सजिन पुगेकि छिन् आज विचरा शृजललाई प्रतिक्षा गर्न लगाई आफै नै प्रतिक्षालय बन्न पुगिन । शृजल भने एकोहोरो रुपमा प्रतिक्षालाई हेरिरहेको छ । त्यसैबखत कसैले त्यहाँ प्रतिक्षाले लेखेको चिठी भेटाउँछन् र सबैको आग्रहमा पढ्न भन्छन् जसमा लेखिएको थियो ।

“सर्वप्रथम यस गाउँका सम्पूर्ण मान्यजनहरुमा मेरो अन्तिम जीवनको अन्तिम नमस्कार !
जीन्दगीका अधिवेश पलहरुसँग सामना गर्दागर्दै दुःख, पीडा र व्यथाहरु मनमा बोकी अहिलेसम्म बाँचेकी यो अभागी प्रतिक्षा जुन आजसम्म ज्यूँदोलास सरी जीवन यापन गर्नमा बाध्य थिई । अरुको जस्तो जीवन विताउने सपना आखिर सपना मात्रै रह्यो । भगवानले हिंड्नको लागि खुट्टा त दिए तर खुट्टा भएर पनि म हिंड्न सकिन । अरु जस्तै बैशाखीको भरमा हिंड्न सक्ने भैदिएको भए पनि सारा संसार घुमिदिन्थे होला तर बैशाखी पनि मेरो लागि वाधक भईदियो । खुशी थिएँ अपाङ्ग भएकोमा तर कुन जन्ममा पाप गरेछु जसको बदला मलाई यो जन्ममा मिल्न पुग्यो । मुख भएर पनि र जिव्रो हुँदा हुँदै पनि म बोल्न सकिन । हातको इशारारले सारा कुरा बुझाउन चाहान्थे तर कसैले नबुझिदिंदा कति पिडा हुन्थ्यो होला मलाई लाग्थ्यो सबैलाई दुःख दिन यस धर्तिमा जन्मिएकी एक अभागि भनि । मेरा पनि रहर इच्छाहरु धेरै थिए । म पनि अरुले जस्तै कसैलाई माया गर्न चाहान्थे, मन पराउँथे मेरो पनि सिन्दुर पोतेमा सजिइ डोली चढ्ने रहर थियो तर यो अभागीको रहर कहिल्यै पनि पुरा हुने थिएन । मलाई पनि कसैले चाहान्थ्यो होला, मन पराउँथ्यो होला, मेरो वास्तविकता थाहा हुँदा उ पनि मलाई घृणात्मक दृष्टिकोणले हेर्ने थियो किनकि यो पनि उसको वाध्यता नै हुने थियो । त्यसैले आज यही बाटो रोज्न पुगें जुन थियो ‘आत्महत्या’ जसमा म कसैलाई दोष दिन चाहन्न यस धर्तिमा जन्म लिनु मेरो भूल थियो, आत्महत्या गर्नु मरो कर्तव्य भयो, त्यसैले आज म संसारदेखि सधैंका लागि विदा हुँदैछु सधैंका लागि ............।”

मान्छे मरेपछि रुनु त स्वभाविक नै थियो, त्यहाँपनि रुनु चिच्याउनु भैरहेको थियो । केही समयपछि प्रतिक्षाको लाश बोकी मानिसहरु घाटतर्फ लाग्छन् । शृजल एकान्तमा बसी छट्पटाइरहेको छ रोइरहेकोछ प्रतिक्षा आखिर यो सब मेरै कारणले भयो हैन मलाई माफ गर हुन त म तिम्रो अगाडी माफ माग्ने लायकको पनि छैन मलाई थाहा छ दोषी म हुँ, आत्महत्या गर्न वाध्य तुल्याउने आखिर म नै हुँ यदी बारम्बार तिम्रो सामु उपस्थित नभएको भए आज यो घटना घट्ने थिएन, अकालमा तिमीले ज्यान गुमाउनु पर्ने थिएन । प्रतिक्षाको सुन्दर शरिर खरानीमा परिणत हुँदैछ । शृजलको मन जलिरहेको छ । आँखाभरी आँशु लिंदै प्रतिक्षा मैले अपराध गरेको छु तिमीलाई यो स्थितिमा पुर्याउने अपराधी कतै म त होइन ?





पल्लो घर को आइमाई 
जीवनको अठारौं वसन्त पार गर्दै गरेका बेला, प्रेम र सुन्दरताको परिभाषा बुझ्दै गरेका बेला, स्त्री निकटताको तरंगको मदहोसी कल्पना बुन्दै गरेका बेला म उसको त्यो मुस्कानमा डुब्न थालेँ, उसको हेराइमा हराउन थालेँ

...
लामो अन्तरालपछि आज व्यस्त पुतलीसडकमा उसलाई देख्दा एउटा अनौठो तरंग शरीरभरि नै व्याप्त भयो। मलाई देखेर उसमा एक किसिमको लाली चढ्यो, उसका ओठ खुल्दै गए। उनको त्यो मुस्कानले मलाई त्यसरी नै डुबाइदियो जसरी पहिले म डुब्न गर्थे - उसको सौन्दर्यको दीपिकामा।

मैले एकछिन उसलाई टोलाएर हेरेँ। मलाई ऊ बोल्न खोजेझैं लाग्यो। तर ऊ बोलिन, म पनि बोलिनँ। ऊ जतातिरबाट आउँदै थिई म त्यतैतिर जाँदै थिएँ। आमनेसामने उभिएर हामीले एकअर्कालाई हेरिरह्यौं। कति बेरपछि हो कुन्नि, एउटी सानी केटी आई र उसलाई भनी, ...मामु, छिटो जाऊँ न!'
मेरा आँखा विस्थापित भए, उसको छोरीतर्फ।
ऊ छोरीलाई डोराउँदै मेरो छेउबाट बिस्तारै अघि बढी। लाग्थ्यो, उसलाई आफ्ना पाइला बढाउन गाह्रो भइरहेको थियो। मैले फर्केर ऊतिर हेरेँ, उसले पनि मलाई नै हेरिरहेकी थिई। निकै टाढा पुग्दासम्म मैले उसलाई हेरिरहेँ, उसले पनि मलाई फकर्िंदै हेर्दै गरिरही।
दृष्टिपटलबाट ऊ ओझेल भएपछि म स्तब्ध भएर हिँड्न थालँे। मस्तिष्क सुन्य थियो, शरीरमा गेयता हराएको थियो। धेरै पछि पो मलाई थाहा भयो - म अफिस हिँडेको मान्छे सिधै घरमा गएर ओछ्यानमा पल्टिन पुगेछु।
......................
चार वर्षअघि म कलेजको प्रथम वर्षमा हुँदा उसलाई पहिलो पटक देखेको थिएँ। ऊ र उसको पति हाम्रो घरछेउकै घरमा भाडामा बस्न आएका थिए। उनीहरू शिक्षित र सम्भ्रान्त देखिन्थे। उसको पतिले राम्रै ठाउँमा रोजगार पाएको हुनुपर्छ किनकि ऊ आफ्नो मोटरसाइकलमा आवतजावत गर्थ्यो र उनीहरूको आम्दानी पनि राम्रै हुनुपर्छ, दुई जनाको परिवारले एउटा सिंगो फ्ल्याट लिएर बसेको थियो। बिदाको दिनबाहेक उसको पति घरमा बस्दैनथ्यो। ऊ दिनभरिजसो नै घरमा हुन्थी। मैले उसको आँखा र ओठमा तृप्तिको यस्तो चमक देेखेको थिएँ जो विरलै मान्छेमा देख्न पाइन्छ त्यसैले मलाई लाग्छ उनीहरूको जीवन परिपूर्ण थियो।
ऊ एकदमै राम्री थिई त भन्न मिल्दैन तर हाँस्दा दुईतिर गालामा पर्ने खाल्टो र हल्का खैरो रंगको आँखाको दीप्ति जो कोहीलाई बेकाबु गर्न पर्याप्त थियो। जीवनको अठारौं वसन्त पार गर्दै गरेका बेला, प्रेम र सुन्दरताको परिभाषा बुझ्दै गरेका बेला, स्त्री निकटताको तरंगको मदहोसी कल्पना बुन्दै गरेका बेला म उसको त्यो मुस्कानमा डुब्न थालेँ, उसकोे हेराइमा हराउन थालेँ। कस्तो सम्बन्धको कल्पनामा म थिएँ, थाहा छैन, उसमा मप्रतिको सोेचाइ कस्तो थियो थाहा छैन, तर म दावाका साथ भन्न सक्छु मैले एउटी स्त्री र पुरुषबीचको आकर्षणको सम्बन्धबारे सोचेको थिइनँ। र, मलाई पूर्ण विश्वास छ उसले पनि मलाई आकर्षणको भावले हेरेकी थिइन किनकि ऊ प्रेमको पूर्णाहुति गरेर परिणयको सूत्रमा बाँधिएको नवविवाहिता थिई। म ऊभन्दा कैयौं वर्षले कान्छो, ठेट्नो।
उसलाई हेर्ने लोभले मलाई त्यतिबेला यतिबिघ्न पागल बनाएको थियो कि म हरेक साँझ उसको पछिपछि झोला बोकेर तरकारी बजारतर्फ आफ्नो पाइला बढाउँथेँ। मैले कहिल्यै तरकारी किनमेल गर्ने गरेको थिएन - घरमा सबै छक्क परे। एकदिन त अचाक्ली नै भयो। कहिल्यै मुला नखाने मैले आफैले मुला किनेर ल्याएँ, घरमा सबै चकित भए। म आफैं पनि निकै छक्क परेँ। एकदिन उसले मुला किन्दै गरेको मैले हेरिरहेको थिएँ। सायद अर्धचेतन अवस्थामा मुला किन्न पुगेको छु।
ममा बहुलठीपन बढ्दै गयो। म धार्मिक बन्दै मन्दिर जान थालेँ, उसलाई देख्न पाइन्छ कि भनेर। सधैं टिभी हेरेर दिन बिताउने म झ्यालमा बसेर पल्लो घरको ठोकामा आफ्नो नजर दौडाउन थालेँ। हरदिन, हरसमय मेरा नयनले उसैलाई खोजिरहेका हुन्थे तर मेरा ओठले यो भावलाई कहिल्यै प्रकट गरेनन्। सिधै उसको मुहारमा मैले कहिल्यै हेरिनँ पनि। बरु उसले पो मलाई सिधै अगाडिबाट हेरिदिन्थी, मलाई असजिलो महसुस हुन्थ्यो, यताउता हेर्ने कोसिस गर्थें। केही बेरपछि आँखाको कुनाबाट उसलाई हेर्दा उसले उसरी नै हेरिरहेको पाउँथेँ। अनि धेरै बेरपछि ऊ यस्तो मुस्कानले मलाई आक्रमण गरेर जान्थी जसको पीडाबाट मुक्ति पाउन मलाई घन्टौं लाग्थ्यो। तथापि त्यही दिनचर्याले रोजिन्दा नयाँ-नयाँ कोणबाट लोभ्याँउथ्यो।
यो छटपटाहट र उकुसमुकुसलाई मनमस्तिष्कमा मैले धेरै दिन दबाएर राख्न सकिनँ। तिनलाई एक दिन मैले मेरो काकाको छोरासमक्ष खोलेँ। उहाँ नाताले दाजु भए पनि मसँगै साथीको व्यवहार गर्नुहुन्थ्यो। उहाँले मैले भोगिरहेको मानसिक तनाव एक सामान्य अनुभव हो, जीवनमा घट्ने यस्तै किसिमका अनुभूतिले नै जीवनलाई जिउनयोग्य बनाउँछ भन्नुभयो। म मनमनै खुसी भएँ। तर तुरुन्तै उहाँले भन्नुभयो, ‘प्रेमको त्यो फूललाई टाढैबाट हेर्नू, स्पर्शको अभिलाषा लिएर नजिक नजानू।' उहाँको कुरा सुनेर ममा पीडा भयो। मलाई लाग्यो, उहाँले ममा उमि्रएका भावलाई राम्ररी बुझ्न सक्नुभएन।
परिस्थिति बोध गर्न नसक्ने, प्रेमको गहिराइ नबुझ्ने जोकोहीले पनि उहाँले भनेझैं भन्छ भन्ने सम्झेर आफ्नो प्रेमबारे कसैलाई केही नभन्ने प्रतिज्ञा गरेँ, तर त्यो प्रतिज्ञा धेरै चाँडो टुट्यो - बोझिल हृदयलाई हल्का बनाउन मैले एउटा अन्तरंग मित्रसमक्ष मेरो समस्या भनेँ। तर, उसले पनि बुझेन मेरो समस्या र ‘ऊ'बाट टाढै रहन सल्लाह दियो।
त्यतिखेर म खाली समय टोलका साना भाइबहिनीलाई ट्युसन पढाउँथेँ। एक दिन ट्युसन पढाउँदै गर्दा उसको लोग्ने आयो र भन्यो, ‘मैले सालीलाई काठमाडौंमै पढाउने सोचेर ल्याएको छु, भाइले यसो गाइड गर्दिनुपर्‍यो।' अर्को दिन उसले आफ्नी साली मालिकालाई लिएर आयो। ऊ सात क्लासमा पढ्ने, अलिकति लजालु स्वभाव, गोरो रंग सानो उचाइकी, पातली राम्री केटी थिई। हाँस्दा उसकी दिदीको जस्तो उसको गालामा डिम्पल त पर्दैनथ्यो तर त्यो मुस्कान दिव्य थियो।
‘इङ्लिस स्पिकिङ प्राक्टिस' को बहानामा मैले मालिकालाई थुप्रो व्यक्तिगत प्रश्न गरेँ। उसले दिएका प्रत्येक उत्तर मैले बिर्सिदिएँ तर एउटा उत्तर मैले स्मृतिको कुनामा सुरक्षित राखिछाडेँ - माला। उसकी दिदीको नाम। 
यो नामका लागि त मैले प्रश्नको पेटारो खोल्नुपर्‍यो, कसरी यो नामलाई एउटा कानले सुनेर अर्को कानले उडाउन सक्थेँ! 
एक दिन मैले मालिकालाई सोधेँ, ‘तिम्री ददी घरमा दिनभर के गर्नुहुन्छ?'
‘खासै केही गर्नुहुन्न। तर अब केही दिनपछि कम्प्युर सिक्न जाँदै हुनुुहुन्छ।'
‘कहाँ?'
‘एप्टेक्टमा।'
त्यसै दिन कान्तिपथ गएर म एप्टेक्टमा भर्ना भएँ। तर कुन समयमा क्लास लिने, त्यो निर्णय गर्न सकिनँ। चिनेको कोही साथी पनि पढ्दैछन् कि भनेर हेर्ने बहानामा मालाले कुन सयममा क्लास लिँदै रहिछे भनेर भर्ना हुनेहरूको सूची हेरेँ। मालाले १२ देखि १ सम्म क्लास रोजेकी रहिछे। मैले पनि त्यही समय रोझेँ। तर मैले उसलाई पछ्याइराखेको छु भन्ने उसलाई भान नपरोस् भनेर मैले ग्राफिक्स रोजेँ, उसले विन्डोज ट्रेनिङ लिँदै थिई। 
हाम्रो क्लास सुरु भयो र झल्याक-झुलुक भेट हुन थाल्यो। म ती भेटबाटै खुसी थिएँ। 
एक दिन रिसेप्सनमा गएर मैैले उसको इमेल पत्ता लगाएँ। र, त्यसै दिन उसलाई मैले ‘भर्चुअल ग्रिटिङ कार्ड' पठाएँ। कसले पठाएको हो भनेर उसलाई संकेत दिन मैले कार्डको तल रोमन लिपिमा ...छिमेकी' लेखेको थिएँ। सायद त्यो लेख्न जरुरत थिएन किनकि मेरो इमेल आइडी नै मेरो नाममा थियो र म उसको बहिनीको शिक्षक भएकाले उसलाई मेरो नाम पक्कै थाहा थियो। 
मैले त्यसरी नै उसलाई भर्चुअल कार्ड र चुट्किलाहरू पठाइरहेँ। एकदिन मैले मेरो कम्प्युटर खोल्दा पाएँ कसैले बाँदरको स्केच गरेर पठाएको रहेछ। राम्ररी नियालेर हेर्दा मैले देखेँ - रोमन लिपिमा ‘पल्लो घरकी आइमाई' लेखिएको थियो। जवाफस्वरूप मैले गुलाफको फूल पठाएँ र तलबाट लेखेँ, ‘धन्यवाद मेरो स्केच राम्रो थियो, तर नाक अलिक मिलेन।' त्यसपछि त एउटा सिलसिला नै चल्यो च्याट अर्थात गफको, केही हाँसो, केही भावना नितान्त निजी आदानप्रदानको। हामी ‘साइबर स्पेसमा' बसेर घन्टौं गफ गर्थ्यौं। वास्तविक रूपमा हामीले आमनेसामने भएर कुरा गर्ने जमर्को कहिल्यै गरेनौं, किनकि घरमा होस् वा बाहिर, भेट हुँदा हामीलाई सधैं असजिलो लाग्थ्यो। तर हामी आफूलाई कम्प्युटर स्त्रि्कनअगाडि यतिबिघ्न उदांगो पार्थ्यौं कि हुनसक्छ त्यसै समय हामी वास्तविक रूपमै आमनेसामने भएको भए एक अर्काको हात समातेर गगनको नीलिमालाई छुन दौडने थियौं।
कम्प्युटरमा ऊसँग यसरी नै जिस्किरहेका बेला एक दिन मैले कहीँ घुम्न जानका लागि आग्रह गरेँ, उसले कुन ठाउँ जाने भनेर सोधी। मैले स्की खेल्न कुनै स्नोल्यान्ड जाऊँ भनेँ, उसले स्की खेल्न नआउने भनी । त्यसपछि मैले बोटिङको अफर गरेँ, उसले पानीसँग डर लाग्ने कुरा गरी। अनि मैले तिमी नै भन न कहाँ जाने भनेर सोधेँ, उसले इडेनको गार्डनमा जाऊँ भनी। मैले हुन्छ भन्ने जवाफ पठाएँ। त्यसपछि ऊ र म साइबर जोनमा घुम्न गयौं। राम्रा-राम्रा फूलहरूको माझ ऊ पनि फूल भएको मैले कल्पना गरेँ। त्यसपछि मैले एउटा रातो गुलाफ टिपेँ र उसलाई दिएँ। प्रत्युत्तरमा उसले मलाई चुमी। 
उसकै लागि मैले विभिन्न ठाउँबाट सुफी संगीतका वेबसाइट खोजेर उसलाई फरवार्ड गर्थें। र, आफूचाहिँ कम्प्युटर स्त्रि्कनअघि बसेर त्यही सुफी धुनमा ऊसँग भुलिरहेको कल्पना गर्थें। कतिपटक त मैले उसलाई लभ फोरमको वेबसाइट पनि फरवार्ड गरँे। एकपटक त यसरी नै कम्प्युटरमा क्लिक गर्दागर्दै साइबर म्यारिज एक्सेस हात लाग्यो। मैले तुरुन्तै उसलाई यो कुरा अवगत गराएँ। प्रतिउत्तर उसले पठाई, जो मैले कल्पना गरेको थिइनँ।
‘रियल म्यारिज त गरिसकेँ, अब अर्को पटक भर्चुअल म्यारिज पनि गरौं न,' मालाले भनी। ऊ एउटा यस्तो अस्तित्व लिएर मेराअघि आएकी थिई, जो एकदमै स्वतन्त्र थियो, समाज, घरपरिवार आदि केहीले पनि उसलाई बन्धनमा पारेको थिएन। 
उसको वर्जनाहीन स्वतन्त्रताले मलाई हौस्यायो, मैले हनिमुनमा जाने ठाउँको लिस्ट नै पठाएँ। ‘कहाँ जाने - पेरिस, ब्रसेल्स, लग्जम्बर्ग, लन्डन, न्युयोर्क?' उसले राम्रो विचार भन्ने भाव व्यक्त गरी। कहिलेकाहीँ हाम्रा कुरा एकदम ‘एक्सटि्रम' मा पुग्थे। के कुनै केटी आफ्ना छट्पटाहट यति सजिलै भन्न सक्छे?
‘फ्रिडम भनेको कसैको रोकतोकबिना बाँच्न पाउनु हो। मलाई बाँच्नु भनेको मिनिङफुल हुनुपर्छजस्तो लाग्छ। जता हेर, फ्रि सोसाइटीले मात्र प्रोग्रेस गरेका छन्। फ्यामिलीप्रति मात्र होइन सोसाइटीप्रति पनि हाम्रो योगदान हुनुपर्छ।'
म अवाक भएँ। मैले भन्नुपर्ने केही थिएन, ‘गो अन' बाहेक।
‘युथ कल्चरलाई रोकेर के हामी इरान बन्ने? मान्छेको रमाइलो गर्ने इच्छा मार्‍यौं भने उसको क्रिएटिभिटी नष्ट हुन्छ।'
‘एस।'
‘नाइट लाइफ राम्रो लाग्छ, पार्टीहरूमा जान खुब रमाइलो लाग्छ।'
‘ह्वाट अबाउट सेक्स?'
‘टिन एज सेक्स र प्रि म्यारिटल सेक्समा हामी किन अल्भि्करहेका छौं, मलाई अचम्म लाग्छ। शरीरको मालिक हामी आफैं हो, के मालिकले आफूखुसी गर्न नपाउनु? पेरेन्ट्सले हामी केटीहरूलाई प्रपर्टीका रूपमा हेरेकाले नै यति धेरै रेस्ट्रिक्सन भएको हो। हाम्रो पढाइले हामीलाई यति पनि सिकाएको छैन र हामीले एक्प्लोइटेसनबाट बच्नुपर्छ? सेक्सुअलिटी र मोरालिटीलाई सँगै राखेर हेर्नुहुन्न। सेक्सुअलिटी प्राइभेट कुरा हो, मोरालिटीले मासलाई इफेक्ट गर्छ। वेस्ट सेक्सुअली फ्रि छ तर के यसले उनीहरूलाई करप्ट गरेको छ त?'
यस्ता च्याटसँगै दिन बित्दै थिए। एक दिन हजुरआमालाई भेट्न मलाई मामाको घर पाल्पा जानुपर्‍यो। एक हप्तापछि फकर्िंदा उनीहरूले कोठा छोडेर गइसकेका रहेछन्। पछि थाहा पाएँ - घरबेटीसँग भाडाको विषयलाई लिएर भनाभन भएको रहेछ। विछोडको पीडाले मेरो मन निकै रोयो। उसले मलाई यसरी अचानक छोडेर जाली भन्ने मैले सोच्न सकेको थिइनँ र यो विछोडलाई हाम्रो सम्बन्धको अवास्तविक धरातलजस्तै अवास्तविक ठानेर उसलाई भेट्न कान्तिपथ गएँ। कम्प्युटर खोलेर इमेल चेक गरेँ। इनबक्समा मालाको चिठी रहेछ :
‘हावाझैं आइरहेका दिन, रात, महिना र वर्ष हावाझैं गैरहेका छन्। हिजो नै त आएको थियो शरद, प्रकृतिमा प्रित फैलाउन। संसारिक उल्झनलाई पन्छाउँदै श्वास लिइरहेको मलाई दृटिवत भैरहेछ - एउटा सत्य। सायद ढिलो भयो कि प्रित बुझ्न, तथापि अहिले म सत्यानुभूत गरिरहेको छु - तिमी र मबीच कहिल्यै वास्तविक प्रेम भएन किनभने वास्तविक रूपमा हामी कहीँ पनि छैनौं। नेटिजन र सिटिजनबीच धेरै फरक छ, प्रिय छिमेकी।'
.................
म ओछ्यानबाट उठेर झ्यालनेर गएँ र बाहिर हेर्न थालेँ। 
अघिल्लो दिन परेको पानीले धोइएर काठमाडौं षोडसीझंै देखिएको थियो। सडकका खाल्टाहरू ससना पोखरीमा परिणत भएका थिए। एक्कासि माला बस्ने फ्ल्याटबाट एउटा सानी केटी कौसीमा आई र सफा आकाश हेरेर केही किन्चित हाँसोको मुद्रामा यताउता हेरी, गमलामा फुलेको सयपत्री टिपी अनि त्यसलाई तलतिर फाली। त्यो पानी भरिएको खाल्टोमा खस्यो। त्यहाँ लहर उठे। सायद त्यो मेरो मन हो, लहर पछि लहर, उठिरहेका, उर्लिरहेका।

No comments:

Post a Comment

kushmabajar.blogspot.com