काठमाडौं । सरकारमा कसको नेतृत्वमा र कस कसलाई पठाउने विषयमा छलफल गर्न आज बस्ने भनिएको माओवादीको बैठक एमालेको स्थायी कमिटीको बैठकको निर्णयपछि मात्रै बस्ने भएको छ । प्रधानमन्त्री झलनाथ खनालले एकीकृत नेकपा माओवादीलाई समेटेर विहीबार मन्त्रिपरिषद विस्तारको तयारी गरेका छन् ।
यसअघि एमाले स्थायी कमिटीको बैठकले सुरक्षा सम्बन्धी कुनै पनि मन्त्रालय माओवादीलाई नदिने निर्णय गरेको थियो । मन्त्रिपरिषद विस्तार र सात बुँदे सहमतिलाई लिएर पार्टी भित्र सुरु भएको विवाद समाधानको विषयमा छलफल गर्न अपरान्ह एमाले स्थायी समितिको बैठक बस्दैछ । एमालेले लिने निर्णयको आधारमा धारणा बनाउने भन्दै माओवादीले विहान एघार बजे बस्ने भनिएको स्थायी समिति बैठक अपरान्ह तीन बजेका लागि सारेको छ ।
पार्टी भित्र सल्लाह नै नगरी गृह मन्त्रालय माओवादीलाई दिन प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष खनालले सहमति जनाएको भन्दै ओलीपक्षले विरोध गर्दै आएको छ । बैठकको निर्णयले गठबन्धनलाई प्रभाव पार्ने विषयलाई ध्यानमा राख्दै एमालेको निर्णयपछि अपराह्न ३ बजे मात्रै माओवादीको बैठक बस्ने भएको छ । प्रधानमन्त्री खनालसंगको सहमतिमा गृह र परराष्ट्रसहित ११ मन्त्रालय पाउने भएपछि माओवादीले आफ्नो तर्फबाट त्यसका लागि नामहरु मनोनयन गर्न लागेको हो ।
तर, एमालेभित्रै नेपाल–ओली समुहले गृह मन्त्रालय जुनसुकै हालतमा पनि माओवादीलाई दिन नहुने अडान राखेपछि जटिलता बढेको छ ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com