काठमाडौ, माघ २९ - एकपल्ट सत्तासीन भइसकेपछि मन्त्रीहरू प्रायः खाईपाई आएको सेवा सुविधा छाड्न सक्दैनन् । तर निवर्तमान मन्त्री रवीन्द्र श्रेष्ठले पद छाडेलगत्तै गाडी छाडे, क्वार्टर छाडे र अन्य सबै सुविधा छाडे । अनि परिवारसमेत छाडेर बेपत्ता भए, एक कार्यकर्ता युवती लिएर ।
भक्तपुरको घर छाडेर १७ वर्षीया छोरी र श्रीमती लक्ष्मीका साथ डिल्लीबजार पीपलबोटमा बस्दै आएका उमेरले पचास पुग्न लागेका श्रेष्ठ आफ्नो आधा उमेरभन्दा कान्छी कार्यकर्ता लिएर सोमबार भागेका हुन् । भागेको भोलिपल्टै दोस्रो बिहे गरी श्रेष्ठले ती युवतीलाई श्रीमती बनाएको स्रोतले बतायो ।
न फोन उठ्ने, न मान्छे नै र्फकने ? कति दिन कुर्ने ? चार दिनसम्म बाटो हेर्दा पनि केही नलागेपछि श्रीमती लक्ष्मी र स्वकीय सचिव वचन देउजाले एमाले पार्टी कार्यालय बल्खुमा निवेदन हाले, 'रवीन्द्र श्रेष्ठ हराए, खोजिपाउँ ।'
बल्खु स्रोत भन्छ, 'श्रेष्ठ हराएको जानकारी प्रधानमन्त्री झलनाथ खनाल र गृह प्रशासनलाई समेत गराइएको छ ।' तर गृह प्रवक्ता जयमुकुन्द खनालले यसबारे आफूलाई जानकारी नगराइएको बताए ।
स्वकीय सचिव वचन देउजाले श्रेष्ठले मन्त्री हुँदा प्रयोग गरेका क्वार्टर र गाडी शुक्रबार सम्बन्धित निकायमा बुझाएका छन् ।
एमाले पोलिटब्युरो सदस्यसमेत रहेका श्रेष्ठ धादिङ घर भई काठमाडौंको एक कलेजमा अंग्रेजीमा स्नातकोत्तर गर्दै गरेकी युवतीसँग बेपत्ता भएका हुन् । परिवार र पार्टी नेता कार्यकर्ताको सम्पर्कमा नआएका श्रेष्ठले मंगलबार ती युवतीसँग बिहे गरेको स्रोतको दाबी छ ।
मन्त्रीपदमा रहँदा श्रेष्ठ अखिलका ती छात्रा कार्यकर्तासँग भेटघाटका लागि रेस्टुराँ जाने गर्थे । 'साधारण कामका लागि भेट्नु पर्दा पनि रेस्टुराँ बोलाउँथे, कुरा यस्तो पो रहेछ,' अनेरास्ववियु सम्बद्ध स्रोतले भन्यो ।
माओवादीबाट एमाले प्रवेशलगत्तै केन्द्रीय कमिटी सदस्य बनेका श्रेष्ठले विद्यार्थी इन्चार्जको जिम्मेवारी पनि पाएका थिए । माओवादी 'जनयुद्ध' का बेला उपत्यकामा निकै शक्तिशाली रहेका श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहालसँग विवाद बढेपछि पार्टीबाट बाहिरिएका थिए । माओवादी छाडेर छुट्टै क्रान्तिकारी सांस्कृतिक समूह बनाएका श्रेष्ठ त्यतिखेर माओवादीले 'जनयुद्ध' छाडेर गल्ती गरेको बताउँथे । तर लगत्तै उनी बहुलवादी प्रतिस्पर्धालाई सिद्धान्त मान्ने दल एमालेमा प्रवेश गरे ।
माओवादीबाट आएकालाई पार्टीका महत्त्वपूर्ण जिम्मेवारी दिने एमाले नीतिअन्तर्गत उनी पोलिटब्युरो सदस्य र मन्त्री भए । सामान्य प्रशासनमन्त्री रहँदै ती युवतीसँग हिमचिम बढाएका श्रेष्ठले पदमुक्त भएलगत्तै प्रेम विवाह गरी भाग्ने तयारी गरेको स्रोतको दाबी छ ।
'नयाँ प्रधानमन्त्रीले शपथ लिएको भोलिपल्टदेखि उहाँले फोन उठाउन छाड्नुभयो,' उनका एक निकटवर्तीले भने, 'त्यसको भोलिपल्टै विवाह गरेको भन्ने सुनेका हौं ।'
'सोमबारदेखि सम्पर्कविहीन बनेका श्रेष्ठको त्यसअघि घरमा सामान्य विवाद भएको थियो,' स्रोतले भन्यो, '२४ गते ११ बजेदेखि परिवारको सम्पर्कमा हुनुहुन्न । कहाँ जानुभयो ? के गर्नुभयो ? थाहा छैन ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com