एमाले अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री बन्न माओवादीसँग 'गठजोड' गरेको भन्दै कांग्रेसले ऊसँगको सम्बन्धमा पुनर्विचार गर्ने भएको छ । कांग्रेसले दुई वर्षदेखि कायम रहेको वाम-लोकतान्त्रिक गठबन्धन भत्काएर अति वाम ध्रुवीकरणलाई मलजल गरेको आरोप पनि एमालेलाई लगाएको छ ।
सरकार निर्माणको विषय र एमालेसँगको सम्बन्धमा पुनर्विचार गर्न कांग्रेस केन्द्रीय समितिको बैठक शनिबार बस्दैछ । बैठकले पार्टी प्रतिपक्षमा बस्ने औपचारिक निर्णय लिँदै अति वाम ध्रुवीकरण रोक्न बृहत् लोकतान्त्रिक मोर्चा निर्माणमा छलफल हुने एक केन्द्रीय सदस्यले बताए ।
'वाम-लोकतान्त्रिक गठबन्धनभित्रै माओवादीलाई ल्याउने हाम्रो योजना हो तर एमालेले कायम रहेको गठबन्धन भत्काएर मुलुकलाई अति वाम ध्रुवीकरणको दिशामा लैजान खोज्यो,' प्रधानमन्त्री निर्वाचनमा पराजित कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले भने, 'अति वाम गठबन्धनको धृतराष्ट्र आलिंगनको परिणाम स्वयं एमालेले पनि भोग्नेछ ।'
माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउँदा कायम रहेको वाम-लोकतान्त्रिक गठबन्धन भत्काउने माओवादी योजनालाई खनाल पक्षले सघाएको कांग्रेसको बुझाइ छ । नेपाल प्रधानमन्त्री भएदेखि कांग्रेस-एमाले सम्बन्ध एउटै पार्टीको जस्तो रहँदै आएको थियो । शान्ति प्रक्रिया र माओवादीलाई सरकारमा ल्याउनेबारे दुई पार्टीका धारणा समान रहँदै आएका थिए । एमालेभित्रबाट नेपाल नेतृत्वको सरकारलाई असहयोग हुँदासमेत कांग्रेसले अन्तिम अवस्थासम्मै साथ दिएको थियो । -
No comments:
Post a Comment
kushmabajar.blogspot.com