कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

२० लाख रुपैयाँ, १५ ग्राम ब्राउनसुगर र तीनवटा मोबाइलसहित पक्राउ


 कैदमा रहेका लीला भनिने टासी लामा आइतबार सुन्धाराबाट २० लाख रुपैयाँ, १५ ग्राम ब्राउनसुगर र तीनवटा मोबाइलसहित पक्राउ परेका छन्। उनको साथबाट १५ लाख पर्ने सुनका गरगहना, इलेक्टि्रक टेलिफोन डायरी पनि बरामद गरिएको छ। जेल प्रशासनको स्वीकृतिमा सुरक्षागार्डसहित निस्केका उनीसित कसरी लागूऔषध, लाखौं रकम र तीन थान मोबाइल सेट पुग्यो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ।
स्रोतका अनुसार अनुसन्धान दायरामा प्रहरी, जेलर र अनेरास्ववियुका एक नेतासमेत छन् । लामाले २० लाख रुपैयाँ अनेरास्ववियुका कोषाध्यक्ष दीपक गौतमलाई दिन लगेको आशंकामा प्रहरीले गौतमलाई पनि हनुमानढोका लगेको थियो । प्रमाणित नभएपछि उनलाई निगरानीमा छाडिएको छ । रकम स्रोतबारे भने प्रहरीले अनुसन्धान जारी राखेको छ । गौतमले टासीका मामा उवाङछु लामाले बोलाएकाले आफू गएको बताए । प्रहरीको दाबीअनुसार एउटै जिल्ला काभ्रेका यी दुईबीच २०५८ देखि चिनजान थियो । यसअघि कान्तिपुर र सिप्रदी फाइनान्स लुटपाट घटनामा टासीसहित दीपकको पनि प्रहरीले खोजी गरेको थियो । त्यतिबेला द्वन्द्वकाल रहेकाले पार्टी नेताहरूको दबाबमा गौतमलाई पक्राउ गर्न नसकेको प्रहरीले बतायो । आइतबार टासीलाई पक्राउ गर्दा गौतम पनि सँगै थिए ।
प्रहरीले टासीका मामासहित अर्का एक शिक्षक कर्ण तामाङ, प्रहरी हवल्दार कृष्णकुमार श्रेष्ठ र जवान ताराप्रसाद न्यौपानेलाई पनि हिरासतमा लिएको छ । धम्की तथा लुटपाटमा टासीका मामाको पनि मिलेमतोको आशंका गरिएको छ ।  राजधानीका तीनवटा बैंक लुटपाटका घटनामा संलग्न लामालाई बैंक अफ काठमान्डूको बौद्ध शाखा लुटेपछि २०६२ मा प्रहरीले पक्राउ गरेर मुद्दा चलाएको थियो । जिल्ला अदालत काठमाडौंले उनलाई जेल सजाय सुनाएपछि केन्द्रीय कारागारमा सजाय काटिरहेका थिए । जेलबाटै उनले व्यापारीलाई धम्क्याउने गरेको गुनासो आएपछि प्रहरीले उनीप्रति निगरानी बढाएको थियो ।  उनलाई जेल प्रशासनले 'आउटडोर नाइके' समेत छनोट गरेको थियो ।
नाइकेका हैसियतमा उनी सुरक्षागार्डसहित किनमेल गर्न बाहिर जाने गर्थे । कारागारका लागि सामान किन्न आइतबार बिहान १० बजे उनी दुई सुरक्षागार्डसहित बाहिरिएका थिए ।  अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार उनी साताअघि पनि यसैगरी बाहिर आएका थिए । 'लामा शनिबार पनि जेलबाट निस्केका थिए,' ती अधिकृतले भने, 'उनलाई पछ्याउने गरेका थियौं । दरबारमार्गको अन्नपूर्ण होटलअगाडि सुरक्षागार्डले उनलाई छाडिदिए, पिछा गर्दै सुन्धारामा पक्राउ गर्‍यौं ।'  प्रहरीले सुरक्षागार्डका रूपमा खटिएका दुई प्रहरीलाई पनि नियन्त्रणमा लिएको छ । 'आफूले बुझेर ल्याएको कैदीलाई बाटोमा छाड्न मिल्दैन,' काठमाडौं प्रहरी प्रमुख एसपी पुष्कर कार्कीले भने, 'दुवैलाई नियन्त्रणमा राखेर अनुसन्धान थालेका छौं ।'  कार्कीले आश्चर्य व्यक्त गर्दै भने, 'जेलका व्यक्तिसित यति धेरै रकम कहाँबाट आयो ? स्रोतका अनुसार १० वर्ष कैद सजाय सुनाइएका लामा फागुन ७ गते सरकारले दिने आममाफीमार्फत छुट्दै थिए । 'उनी एमालेका नेता भेट्न आएको देखिन्छ,' अनुसन्धानमा संलग्न प्रहरीले भने ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com