शस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरिक्षक ठाकुरमोहन श्रेष्ठले बुधवार 'नसिहत' पाएका छन् । श्रेष्ठलाई स्पष्टीकरण सोधेर विभागीय कारवाही गर्न यसअधि नै मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयलाई निर्देशन दिएको थियो ।एआईजी श्रेष्ठले पदको दुरुपयोग गरी संगठनको मर्यादामा आँच आउने गरी 'अक्षम्य अपराध' गरेको ठहर गर्दै गृहले बलको मुख्यालयलाई विभागीय कारवाही गर्न निर्देशन दिएको थियो । मन्त्रिपरिषदमा निर्णयका लागी पठाउनु अघि मन्त्रालयले पनि एआईजी श्रेष्ठलाई दुई पटक स्पष्टीकरण सोधेको थियो ।
सुरक्षा निकायमा माथिल्लो तहका अधिकृतले नसिहत पाउनुलाई कडा सजायको रुपमा लिइन्छ । बलको ऐन तथा नियमावली अनुसार नसिहत पाएका व्याक्ति न्यूनतम एक वर्ष बढुवा, विदेश भ्रमण, फौजको नेतृत्व, विषेश नियुक्ती र पुरस्कार जस्ता विशेष अवसरबाट बञ्चित हुन्छन् ।
प्रभावशाली नेता तथा समाजका चर्चित व्याक्तिहरुलाई नक्कली विद्यावारिधी दिने समारोहमा आयोजकलाई एआईजी श्रेष्ठले संगठन प्रमुखको अनुमतिबिना आफूखुशी बलका सुरक्षाकर्मी र उपकरणको दुरुपयोग गरी सहयोग गरेको अभियोग लागेको थियो । समाचार श्रोतका अनुसार श्रेष्ठलाई कारवाहीका लागी गृहको आदेशमा बलको मुख्यालयले २४ घन्टे स्पष्टीकरण सोधेको थियो । उक्त स्पष्टीकरणको जवाफमा चित्त नबुझेपछि श्रेष्ठलाई दुई पटक १२ घन्टे प्रष्टिकरण सोधिएको थियो । दुवै जवाफबाट संगठन प्रमुख आइजीपी सनत बस्नेत सन्तुष्ट नभएपछि श्रेष्ठलाई नसिहत दिएको हो ।
स्पष्टीकरण लिने क्रममा एआईजी श्रेष्ठले गल्ती स्वीकार्नुका सट्टा ढाकछोपको प्रयास गरेपछि वरिष्ठ एआईजीहरु सम्मिलित छानवीन टोली गठन गरिएको थियो । टोलीले दुरुपयोगबारे जानकार बलको मुख्यालयका १२ अधिकृतहरुबाट लिखित प्रतिवेदन लिएपछि श्रेष्ठलाई कारवाहीका लागि शिफारिस गरेको थियो ।
एआईजी श्रेष्ठलाई कारवाही भएको घटना भने यो पहिलो होइन । उनलाई झापा जिल्लामा प्रहरी निरीक्षक हुँदा २०५० सालमा कडा चेतावनी दिइएको थियो । २०५६ सालमा डिएसपी हुदा माहाराजगञ्ज प्रहरी प्रतिष्ठानमा अनुशासनहीन काम गरेको अभियोगमा नसिहत दिइएको थियो ।
त्यस्तै २०६० सालमा सुर्खेतमा कार्यरत रहँदा सेनासँग अनावश्यक विवाद गरेको भन्दै श्रेष्ठलाई नियन्त्रणमा लिई हातपात गरेर छाडिदिएको थियो । पूर्व क्षेत्रमा २०६४ सालमा कार्यरत रहँदा श्रेष्ठलाई सन्चारकर्मीलाई हातपात गरेको अभियोगमा सचेत गराएर सुदुरपश्चिम क्षेत्र सरुवा गरिएको थियो ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com