कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

पर्यटन वर्ष ग्रामीण जनताका लागि कौवालाई बेल पाके सरह


-शर्मिला ठकुरी
राजधानी र देशका विभिन्न सहरी क्षेत्रलाई पर्यटन वर्षको रौनक र चर्चा परिचर्चाले केही छोएपनि अधिकाँश ग्रामीण भेगका जनतालाई भने पर्यटन वर्ष "कौवालाई बेल पाक्यो हर्ष न विस्मात्" भने झैं हुन पुगेको छ ।
पर्यटन वर्षको प्रचारप्रसार सहरी क्षेत्रमा केन्द्रित भएको र नेपाल पर्यटन बोर्डले ग्रामीण क्षेत्रतर्फ ध्यान नदिएका कारण ग्रामीण भेगका जनता पर्यटन वर्षबारे बेखबर भएका हुन् ।
"सन् २०११ पर्यटन वर्ष भएपनि हामीलाई केही हुँदैन नभएपनि केही हुँदैन, पर्यटन वर्ष मनाएपछि हाम्रो सबै दुःख जाने भएपो एक पेट खानको लागि दुःख गर्नैपर्छु" तनहुँ पुर्कोटकी माया थापामगरले यसरी पर्यटन वर्षबारे अनभिज्ञता प्रकट गरिन् ।
उनी भन्छिन् - "सरकारले अहिलेसम्म हामीलाई हेरेको छैन त्यसैले जुनसुकै वर्ष मनाए पनि हामीलाई कुनै चासो छैन ।" त्यस्तै जवाफ दिन्छन् लमजुङ राइनासका रामजी गुरुङ । । उनी सरकारले पर्यटन वर्षको घोषणा गरेपनि आफ्नो गाउँको लागि पर्यटकीय क्षेत्र बनाउन कुनै कदम नचालेको गुनासो पोख्छन् । उनी भन्छन्- "कुनै ठाउँमा प्रचारप्रचारको लागि भनेर केही रकम सरकारले दिएपनि त्यहाँ झारा टार्ने सानो कार्यक्रम गर्छन् र त्यस ठाउँका टाठाबाठा मिलेर त्यो पैसा खान्छन् । हामीलाई भने केही न केही ।"
राजधानीदेखि नजिकै रहेको काभे्रपलान्चोक जिल्लाको कोसीपारीका जनतामासमेत पर्यटन वर्षको बारेमा कुनै जानकारी छैन । गाउँमा रहेको एसियाकै दोस्रो ठूलो पहिरो पर्यटकीय दृष्टिले निक्कै महत्वपूर्ण रहेकोसमेत त्यस क्षेत्रका जनतामा जानकारी रहेको छैन ।
यसको प्रचार गर्न सकेमा पर्यटक भित्रन सक्नेसम्भावना रहेपनि जनतामा केही जानकारी नरहेकाले यसको महत्व नै गुमेको बताउँछन् गाविस सचिव सुधिर गौतम । "यस क्षेत्रका सम्पूर्ण युवाहरु खेतीपातीमा व्यस्त भएका हुन्छन् उनीहरुलाई देशमा के भइरहेको छ त्यसबारेमासमेत जानकारी छैन पर्यटन वर्षबारेमा कसरी जानकारी हुनु यहाँ त साचारमाध्यमसमेत छैन" स्याङजाबाट सचिवको रुपमा काम गर्न त्यस स्थानमा पुगेका गौतम भन्छन् ।
पर्यटन बोर्डले मेला र महोत्सवको लागि बढी रकम खर्च गर्ने गरेपनि त्यसले पर्यटनको वृद्धिमा खासै ठूलो प्रभाव नपार्ने उनीहरुको भनाइ छ । पर्यटनको क्षेत्रमा काम गर्दैआएको नोदन क्लबका अध्यक्ष रमण भट्टराइले पर्यटन बोर्डले पर्यटन वर्षको प्रचारप्रसारको लागि भनेर सरकारले दिएको रकमको दुरुपयोग गरिरहेको आरोप लगाउनुभयो ।
उहाँले बोर्डले मेला र महोत्सवमा मात्र नभएर कुनै जाति विशेषको कार्यक्रममासमेत "पर्यटन वर्ष सन् २०११ लाई सफल पारौं" भन्ने नाराको तुल बोकाएर पर्यटन वर्षकै बेइज्जत गरिरहेको पनि बताउनुभयो ।
"जस्तोसुकै कार्यक्रम लिएर गएपनि पर्यटन बोर्डमा आफ्नो मान्छे छ भने त्यस कार्यक्रममा बोर्डले सहयोग गर्छ तर आफ्नो मान्छे छैन र पावर पनि छैन भने जति राम्रो कार्यक्रममा पनि बोर्डले सहयोग गर्दैन" -भट्टराइले तीतो पोख्नुभयो ।
त्यस्तै पर्यटन व्यवसायी सुदर्शन प्रधान पनि सो कुरामा सही थाप्दै पर्यटकहरु आउने क्षेत्रमा लगानी गर्न बोर्डले कुनै कदम नचालेको बताउनुहुन्छ । उहाँले पर्यटकहरुको रुचिबुझेर पर्यटन प्रवद्र्धन गर्नुपर्नेमा मेला र महोत्सवको देखावटी काम गर्दैमा बोर्डलाई भ्याइनभ्याई भएको गुनासो गर्नुभयो ।
उहाँले नेपालका पर्यटकीय क्षेत्रको पहिचान गर्ने कार्यमा समेत पर्यटन बोर्ड चुकेको बताउँदै नेपालका केही ग्रामीण स्थानमा मात्र होमस्टे राखेर पर्यटन वर्षको प्रचारप्रसार भएको भन्ने सोच्नु बोर्डको कमजोरी भएको बताउनुभयो ।
नेपालका ग्रामीण इलाकालाई पर्यटकीय दृष्टिकोणले हेर्ने हो भने पर्यटक आकर्षित गर्ने स्थल धेरै छन् । तर त्यहाँका जनता जति जागरुक भएर पर्यटकीयस्थल बनाउन लागि परे पनि त्यसको भरमा मात्र त्यसस्थल पर्यटकीयस्थल नबन्ने भएकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने प्रधानको भनाइ छ ।
देशका केही चिनिएका पर्यटकीय क्षेत्रको भरमा मात्र पर्यटन वर्ष सफल पार्नतिर सरकार लाग्नु अपरिपक्व नीति हुने उहुको धारणा छ । गाँउ नै गाँउले भरिएको देश नेपालको पर्यटन अभियानबारे ग्रामीण इलाकामा बसोबास गर्ने जनतामा चेतना र उत्साह जगाउन सकेमा मात्र पर्यटन अभियानले सार्थक रुप लिनसक्ने छ ।
यो वर्ष १० लाख विदेशी पर्यटकलाई नेपाल भित्रुउने पर्यटन वर्षको लक्ष्य हो भने सरकार र सम्वद्ध पक्षले आफ्नो नीति र कार्यशैलीमा पुनः बिचार गर्न ढिलाई गर्नु हुँदँैन ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com