सर्वोच्च अदालतले कालो सिसा हालिएका गाडी प्रयोग गरेर अपहरण, हातहतियार ओसारपसार, बलात्कार लगायतका अपराधिक गतिविधि हुनसक्ने भन्दै हटाउने निर्देशन गरेको छ। फैसलाको कार्यान्वय गराउने जिम्मेवारी पाएको ट्राफिक प्रहरीले दुइ दिनमा दुइ सयभन्दा बढी गाडीमा टाँसिएको कालो स्टिकर हटाएको छ।
सर्वोच्च अदालतले बुधवार राष्ट्रपति र प्रधानमन्त्रीबाहेक कसैले पनि सवारीसाधनमा कालो सिसा राख्न नपाउने व्यवस्था गर्न सरकारलाई आदेश दिएपछि सोही निर्णय कार्यान्वय गर्न ट्राफिक प्रहरीले सवारी साधनमा राखिएको कालो सिसा निकाल्न थालेको हो। सर्बोच्चका न्यायाधीश बलराम केसी र भरतराज उप्रेतीको संयुक्त इजलासले कालो सिसा हटाउने फैसला सुनाएको थियो। कालो सिसाका कारण बाहिरबाट भित्र देख्न नसकिने भएकाले अपराधी भाग्दा पनि प्रहरीले थाहा नपाउने भएकाले सार्बजनिक सुरक्षालाई ध्यानमा राखेर कालो सिसा राख्न नदिनु भन्ने बेहोरा सर्वोच्चको फैसलामा उल्लेख छ।
फैसला कार्यान्वयनको जिम्मेवारी पाएको ट्राफिक प्रहरीले राजनीतिक दलका नेता, नेपाली सेनाका उच्च अधिकृत, उद्योगी, व्यवसायी तथा कुटनीतिक नियोगका सवारीसाधनको कालो सिसा निकालेको छ। विहीबार राजधानीका विभिन्न स्थानबाट एक सय ६२ वटा गाडीबाट कालो स्टिकर निकालियो भने शुक्रबार करिब एक सय वटा गाडीबाट कालो सिसा हटाइएको छ।
शुक्रबार मध्यान्ह हामी दरबारमार्ग पुग्दा प्रहरी निरिक्षक सीताराम हाछेथुले माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई गाडीको कालो स्टिकर निकाल्न आग्रह गर्दै थिए। कालो स्टिकर हटाउने श्रेष्ठले प्रतिबद्धता जनाएपछि हाछेथुले गाडी छाडेका थिए। हाछेथुले उपल्लो दर्जाका अधिकृतदेखि सर्वसाधारणसँग हात जोड्दै स्टिकर हटाइरहेका थिए।
No comments:
Post a Comment
kushmabajar.blogspot.com