कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

सरकारी जग्गा व्यक्तिको बनाउन माओवादी नेता-कार्यकर्ता संलग्न


माओवादी ‘कब्जा’ मै रहेको ६ सय रोपनी जग्गा व्यक्तिका नाममा किनबेच भएको पाइएको छ । सरकारी जग्गा व्यक्तिको बनाउन माओवादी नेता-कार्यकर्ता संलग्न रहेको थप रहस्य खुलेको हो । महादेवस्थान गाविस ९ स्थित इन्द्रावती खोला किनारको उक्त परिमाणको जग्गा एक वर्षअघि माओवादी कार्यकर्ताले कब्जा गरे पनि भदौमा व्यक्तिका नाममा गरिएको थियो । ‘पैसामा कुरा मिलेपछि कब्जामा रहेको सरकारी सम्पत्ति बिक्री हुन सक्यो,’ माओवादी जिल्ला पार्टी स्रोतले बतायो । यस विषयमा केही सदस्यले पार्टीमा प्रश्न उठाउँदा पनि सुनुवाइ हुन नसकेको दाबी पनि स्रोतले गर्‍यो । सरकारी जग्गा व्यक्तिको नाममा गराएको भन्दै माओवादी कार्यकर्ताले ०६६ माघ ६ गते जग्गा कब्जा गरेको थिए । महादेवस्थान गाउँ कमिटी सेक्रेटरी शम्भु फुयाल नेतृत्वमा उनीहरूकै दनुवार मुक्ति मोर्चा, अखिल नेपाल किसान संगठनसहितले जग्गा कब्जा गरी पार्टी झन्डा गाडेका थिए । स्रोतका अनुसार माओवादीले जग्गा बिक्री गर्दा १ करोड रुपैयाँ कमिसन मागेको थियो । ‘त्यसमध्ये केही पैसामात्र आउन बाँकी छ । धेरै चाहिँ पार्टी नेतृत्वले बुझिसकेको छ,’ माओवादीका एक जिल्ला नेताले नाम नछाप्न भन्दै स्रोतलाई बताए ।
माओवादीले जग्गा कब्जामा लिनुभन्दा अगाडिदेखिनै तत्कालीन जग्गाधनीले बिक्री गर्न खोजेका थिए । खरिद र बिक्री गर्ने दुवैसँग पैसा माओवादीलाई दिने सर्त मिलेपछि उनीहरूकै संलग्नतामा पछिल्लोपटक जग्गाको किनबेच भएको दाबी ती सदस्यले गरे । माओवादीको ग्रामीण स्तरका नेतासँग कुरा नमिलेपछि उसकै जिल्लास्तरीय नेतासँगको मिलोमतोमा किनबेच भएको थियो । स्रोतका अनुसार जग्गा किनबेच गर्दा माओवादीले भने जति पैसा दिने सर्तमा जिल्लास्तरमा मिलेपछि तल्लो तहका कार्यकर्तालाई यसबारे केही नबोल्न र बिक्रीमा अवरोध नगर्न पार्टीले निर्देशन दिएको थियो । केही महिनाअघि जग्गाबारे मुद्दा हाल्न खोज्ने एक सर्वसाधारणमाथि माओवादीले त्यसतर्फ नलाग्न धम्की दिएको रहस्य खुलेको छ । उनले एक वकिललाई मुद्दासमेत लेख्न लगाए पनि लामो समयसम्म सम्पर्कमा आएनन् । ‘मलाई सुरुमा मुद्दा लेख्न लगाए,’ उनले पनि नाम नछाप्ने सर्तमा भने, ‘पारिश्रमिक पनि १५ हजारजति दिएका थिए । त्यसपछि उनी सम्पर्कमै आएनन् । केही महिनाअघि मात्र भेट्दा माओवादी कार्यकर्ताको धम्कीका कारण नआएको बताए ।’ ‘जग्गा किनबेच गर्दा पैसाको चलखेल भएको मैले पनि सुनेको छु,’ माओवादी गाउँ कमिटी सेक्रेटरी फुयालले भने, ‘खै कसले पैसा लिएर जग्गा किनबेच गराए, मलाई थाहा भएन ।’ सोही वडाको स्थानीय बासिन्दासमेत रहेका उनले आफूले एक रुपैयाँ पनि कसैसँग नलिएको दाबी गरे । ‘मलाई पैसा दिएर किन्ने प्रयास नभएको होइन,’ उनले कब्जा गरेपछिको अवस्था स्मरण गर्दै भने, ‘तर मैले त्यसलाई इन्कार गरिदिएँ ।’ माओवादी जिल्ला नेतृत्वले भने जग्गा आफूहरूकै कब्जामा रहेको र कसैसँग कमिसन नलिएको दाबी गरेको छ । जिल्ला सेक्रेटरी गंगाबहादुर दोङले भने, ‘माओवादीले पैसा लिएर जग्गाको किनबेच गर्न दियो भन्ने हल्ला गलत हो । अहिले पनि उक्त जग्गा हाम्रै कब्जामा छ ।’तर, मालपोतको स्रेस्तामा भने उक्त जग्गा गत भदौ १५ गते १३ जना व्यक्तिको नाममा पास भएको देखिन्छ । कारबाहीका लागि निर्देशन यसैबीच, भूमिसुधार तथा व्यवस्थापन विभागले एक पत्र लेखी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएबारे छानबिन गरी जतिसक्दो छिटो कारबाही प्रक्रिया अघि बढाउन जिल्ला मालपोतलाई निर्देशन दिएको छ । सरकारी जग्गा व्यक्तिले हडपेको विषयमा समाचार आएपछि विभागका महानिर्देशक जितबहादुर थापाले लिखित निर्देशन दिएका हुन् । ‘सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता हुनु भनेको निकै गम्भीर हो,’ थापाले भने । मालपोत काभ्रेका प्रमुख जनार्दन गुरागाईं र मालपोत अधिकृत वेदराज अर्याललाई त्यसबारे छानबिन गरी तुरुन्त कारबाही अघि बढाउन भनिएको छ । ‘विभागबाट हामीलाई निर्देशन आएको छ,’ प्रमुख गुरागाईंले भने, ‘छिटो छानबिन टुंग्याई कारबाही प्रक्रियामा जान्छौं ।

No comments:

Post a Comment

kushmabajar.blogspot.com