पूर्वयुवराज पारस शाहले श्रीमती हिमानीको सुरक्षार्थ राजधानीबाट आएका नेपाली सेना चढेका गाडीको चाबी खोसेका छन् । श्रीमतीसँगै दोलखा आएका शाहले सुरक्षा नपाएको भन्दै चाबी खोसेका हुन् । चाबी लिएर उनी हिँडेपछि टुँडिखेलमै दुइटा गाडी र सैनिकहरू अलपत्र छन् । सशस्त्रको एउटा गाडी भने त्यसअघि नै अन्यत्रै गइसकेको थियो ।
हिमानी ट्रस्टद्वारा नाम्दुमा सञ्चालित कार्यक्रम देखाउन विदेशी लिएर आएकी हिमानीको सुरक्षार्थ नेपाली सेना र सशस्त्र प्रहरी चढेका तीनवटा भाडाका गाडी राजधानीबाट आएका थिए । पारस र हिमानी भने हेलिकप्टरमा आएका थिए । टुँडिखेलमा अवतरण गरेपछि हिमानी नाम्दु पुगेर नफर्कुन्जेल करिब तीन घन्टा उनी चरिकोट टुँडिखेलमै पर्खेर बसेका थिए ।
हिमानी नाम्दुबाट फर्केपछि पारसले सँगै फोटो खिचेर साढे तीन बजेतिर श्रीमतीलाई हेलिकप्टरमा बिदाइ गरे । त्यसपछि शाहले निजी गाडीमा चढेर आफ्ना अंगरक्षकलाई हिमानीको सुरक्षार्थ आएका नेपाली सैनिक चढेको बा४च ९८७९ नम्बरको गाडीको चाबी खोस्न आदेश दिएका थिए ।
प्रत्यक्षदर्शीका अनुसार अंगरक्षक चाबी लिएर गाडीमा बसेपछि पारस आफैंले तीव्र गतिमा मोटर चलाएका थिए । उनले 'हिमानीलाई मात्र सुरक्षाकर्मी, मलाई खै ?' भन्दै चाबी खोस्न आदेश दिएका थिए । पारस करिब ३ः४५ बजे टुँडिखेलबाट हिँडेका थिए । उनी चरिकोटबाट खाडिचौर हुँदै अरनिको राजमार्गबाट फर्केका हुन् । पारस आफैंले चलाएको गाडीमा उनका अंगरक्षक मात्र थिए ।
हिमानी आउने भएपछि राजधानीबाट आएका सशस्त्र र सेनाको स्कर्टिङ टोलीका सबै सदस्य हिमानीको अघिपछि लागेर नाम्दु पुगेका थिए । पारससँग उनका अंगरक्षक र हेलिकप्टर सुरक्षार्थ बसेको स्थानीय प्रहरी मात्र थिए । नाम्दुमा २ जापानीसँग घुमेर र्फकंदासम्म पारस हेलिकप्टर नजिकै बसिरहेका थिए ।
हिमानी ट्रस्टअन्तर्गत दोलखाको नाम्दु गाविसलाई नमुना बनाउने योजनाअन्तर्गत उनको नियमित आउजाउ भए पनि पारस भने पहिलोपटक आएका हुन् ।
फिस्टेल एयरको ९ ए, एजीआई हेलिकप्टरबाट चरिकोट टुँडिखेल झर्नेबित्तिकै पारसले क्यामेराबाट गौरीशंकर हिमाल र चरिकोट बस्तीका तस्बिरहरू खिचेका थिए । पारसले चुरोट सल्काउँदै इसारा गरेपछि हिमानी पहेँलो गाडीबाट नमुना गाउँतर्फ लागेकी थिइन् ।
टोप, प|mेन्च कट, अनौपचारिक ट्रयाकसुटमा देखिएका पारस हिमानी नआउन्जेल हेलिकप्टर वरपर पाइलट र एक जना अंगरक्षकसँग भुलेका थिए ।
पारस आएको थाहा पाएपछि केही प्रशंसक टुँडिखेलमा भेला भएका थिए । हिमानी फर्केर आएपछि मात्र उनले प्रशंसकसँग बसेर तस्बिर खिच्दै कुराकानी गरे ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com