कुश्मा बजार डट ब्लगस्पट डट कम कथा कविता गजल चुडकिला समाचार हरु पठाउन को लागि हाम्रो इमेल :merojilla@gmail.com मा सम्पर्क गर्नुहोला email:bijaya.sharma70@gmail.com।

माओवादीमा मन्त्री हुनका लागि हानाथाप


माओवादीमा मन्त्री हुनका लागि हानाथाप चर्केपछि बिहीबार पनि मन्त्रिमण्डल विस्तार हुन सकेन । पार्टीले पाउने तय भएका ११ मन्त्रीका लागि करिब सय नेताको सूची छ । अध्यक्ष पुष्पकमल दाहाललाई मन्त्री हुन चाहने धेरै नेताहरुबाट ठूलो दबाव आएपछि बिहीबारको स्थायी समिति बैठक बिना निर्णय स्थगित गरियो ।
दाहाल बिहीबार मन्त्रीको सूची पठाउने तयारीमा भएपनि चर्को बिवाद भएपछि स्थायी समिति बैठक स्थगन गरी तम्घासतिर लागेका थिए ।
हाल प्रधानमन्त्री झलनाथ खनालले नै राखेर केही समयपछि माओवादीलाई दिने भनिएको गृह मन्त्रालयमा को जाने भन्नेबारे झन् बिवाद भएको श्रोतले जनायो । पार्टी स्थायी समिति सदस्यहरु देब गुरुङ र बर्षमान पुनमध्ये कसलाई पठाउने भन्ने विवाद छ । 
अध्यक्ष दाहाल र प्रधानमन्त्री झलनाथ खनालसमेत पुनलाई गृहमा लैजाने पक्षमा भए पनि अर्का उपाध्यक्ष मोहन बैद्य भने वरिष्ठ भएकाले गुरुङलाई पठाउने पक्षमा छन् । बिहीबारको स्थायी समिति बैठकमा त्यसबारेमा छलफल भएको एक वरिष्ठ नेताले बताए ।
उनले मन्त्री हुने व्यक्तिहरूको सूची लामो भएको हुनाले टुङ्ग्याउन बढी समय लागेको बताए । '११ मन्त्रीका लागि एक सय १० नेताको सूची छ' उनले कान्तिपुरसंग भने, 'गृह मन्त्रालयमा को जाने भन्नेमा पनि छलफल भइरहेको छ ।' माओवादीले एक सय १० जनाबाट बढीमा २२ मन्त्री र राज्य बनाउनु पर्नेछ ।
माओवादी नेताहरुले व्यक्तिगत वा सामूहिक रुपमा दाहाललाई भेटेर मन्त्री बनाउन चर्को दबाव दिइरहेको उनी निकट श्रोतले जनाएको छ । दाहाल निवासमा बिहानैदेखि मन्त्रीका लागि भेट्नेहरुको बाक्लो उपस्थिति हुन्छ । त्यसबाहेक उपाध्यक्ष बैद्य र अर्का उपाध्यक्ष बाबुराम भट्टराईलाई मन्त्रीका लागि आफ्नो पक्षलाई दबाव दिइरहेका छन् । श्रोतका अनुसार दाहाल र बैद्यलाई मन्त्री बनाइदिन बढी दबाव छ ।
बुधबारको स्थायी समिति बैठकले मन्त्रीका लागि स्थायी समिति सदस्य कृष्णबहादुर महराको देव गुरुङ, टोपबहादुर रायमाझी, वर्षमान पुन र गिरिराजमणि पोख्रेलको नाम पारित गरेको थियो । अबको स्थायी समितिमा अन्यको नाम टुंगो नलागे पाँच जनालाई सरकारमा पठाउने तयारी दाहालले गरेका छन् ।
यी बाहेक अन्य मन्त्री हुने नेताहरुको चयन गर्न यसअघि बसेका दुई बैठक पनि असफल भएका थिए । अर्को स्थायी बैठक शुक्रबार बिहान बस्ने तय गरिएको छ ।
प्रधानमन्त्री खनालसंगको छलफलपछि माओवादीले पाउने निश्चितप्रायः भएका मन्त्रालयहरूमा सञ्चार, शान्ति तथा पुनर्निर्माण, कानुन तथा न्याय, भौतिक योजना, ऊर्जा, स्वास्थ्य तथा जनसंख्या, श्रम, भूमिसुधार, युवा तथा खेलकुद, महिला, बालबालिका तथा समाजकल्याण छन् ।
बुधबारको बैठकमा स्थायी समिति सदस्यहरू दीनानाथ शर्मा, पोलिटब्युरो सदस्यहरू हरिबोल गजुरेल, अग्नि सापकोटा, शक्ति बस्नेत, हितमान शाक्य, नारायण शर्मा, केन्द्रीय सदस्यहरू जयपुरी घर्ती, महेन्द्र पासवान, प्रभु साहलगायत करिब सय व्यक्तिबारे छलफल भएको थियो ।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सबै पक्षलाई समेट्न ढिलाइ भएको बताए । 'समानुपातिक र समावेशी योग्य व्यक्ति मन्त्रीका चयन गर्न समय लागेको हो' उनले भने, 'सयौ मन्त्री हुन लायक व्यक्ति हुनुहुन्छ ।'

No comments:

Post a Comment

kushmabajar.blogspot.com