सूचना प्रविधिको माग बढ्दै जान थालेपछि विद्युत् सेवा नपुगेको पर्वतको थापाठाना गाउँ विकास समितिको मेहलपोखरीमा जेनेरेटर प्रयोग गरी कम्प्युटर शिक्षा दिन थालिएको छ ।थापाठान-६ का जागरुक युवा रुजित श्रेष्ठले "देउराली कम्प्युटर इन्स्टिच्युटु" स्थापना गरी गाउँमा आधुनिक संचार सुविधा दिन थालेका हुन ।
भारतबाट सूचना प्रविधिमा स्नातक गरेका श्रेष्ठले गत भदौदेखि सेवा सुरु गरेका हुन् । महावीर पुनको योगदान देखेर आफूमा पनि गाउँमै बसेर केही गर्ने सोच आएको उनी बताउँछन् ।
गाउँमै कम्प्युटर शिक्षा लिन पाएपछि विद्यार्थीहरु पनि निक्कै खुसी भएका छन् । स्थानीय उच्च माध्यमिक विद्यालयमा पढ्दै गरेकी स्मिता थापाले गाउँमा कम्प्युटर सिक्न पाएकाले बजार झर्न नपरेकामा खुसी व्यक्त गरिन् ।
स्मितामात्र होइन प्रौढ शिक्षा पढेर सामान्य साक्षर मात्र बनेका रामु सुनार पनि कम्प्युटर शिक्षा लिइरहेका छन् । वैदेशिक रोजगारीमा जाने योजना बनाएका सुनार इमेल-इन्टरनेटदेखि अफिस प्रोग्राम सिकेपछि आफूलाई सहज हुने बताउँछन् ।
गाउँमा सूचना प्रविधिको सुविधा दिने श्रेष्ठको प्रयास भने निक्कै कठिन छ । जेनेरेटर चलाउन प्रतिघन्टा एक लिटरभन्दा बढी तेल खर्च हुन्छ । कम्प्युटर सिक्ने विद्यार्थी जम्मा पाँचजना मात्र छन् । विद्यार्थीबाट आएको शुल्कले त जेनेरेटरको तेल खर्चसमेत उठ्दैन । तर भोलि राम्रो होला भनेर चलाइराखेको छु- उनी भन्छन् ।
अहिले दुईवटा कम्प्युटरबाट सेवा दिइरहेका श्रेष्ठले विद्यार्थी र शिक्षकलाई लक्ष्यित गर्दै दुईवटा कम्प्युटर थप गर्ने योजना बनाएका छन् ।
No comments:
Post a Comment
kushmabajar.blogspot.com